वसन्त खड्का
के तपाई पत्रकारिताको विद्यार्थी हो ? तपाई पत्रकारिता अध्यापन गराउनुहुन्छ ? तपाई पत्रकार हो ? तपाई मिडिया अनुसन्धानकर्ता हो ? तपाईलाई मिडियामा आउने सामग्रीकामा चासो छ ? तपाई माथि उल्लेख गरिएका कुनै पनि समुहमा पर्नुहुन्न तर मिडियाको पाठक मात्रै हो भने पनि यो सामग्री तपाईका लािग निकै महत्वपूर्ण हुनसक्छ ।
हामीले अघिल्लो श्रृंखलामा मुलधारका मिडियाप्रतिको विश्वसनियता किन कमजोर हुँदै गइरहेको छ भन्ने बारेमा नेपालसहित विश्व परिवेशका उदाहरणलाई समेटेर विवेचना गरेका थियौँ । यो सामग्री पनि मिडियासँग नै सम्बन्धित छ । यसपटक हामीले सहकारी ठगी सम्बन्धी छानबिन समितिको रिपोर्ट सार्वजनिक भएदेखि गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने पक्राउ, उनको हिरासत बसाई र प्रहरीको अनुसन्धान टुंगिएर मुद्दा दर्ताहुने बेलासम्म दुई फरक धारलाई प्रतिनिधित्व गर्ने नेपालका अग्रहणी मिडिया हाउस कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारलाई विवेचना गरेका छौँ ।
२०८१ भदौ ३१ गते सांसद सुर्य थापा संयोजक रहेको सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले छानबिन प्रतिवेदनका सुझाव र सिफारिस सार्वजनिक गर्यो ।
छानबिन समितिले सुझाव सार्वजनिक गर्नु अघी सोही दिन बिहान अर्थात भदौ ३१ गते कान्तिपुर दैनिकमा ‘लामिछानेलाई दोषि ठहर गर्दै प्रतिवेदन तयार जिबी, रवि र छविको हस्ताक्षरमा संयुक्त खाता सञ्चालन भएको पुष्टि’ शिर्षकको समाचार प्रकाशित भयो ।
पत्रिकाको सोही दिनको अनलाईन संस्करणमा ‘सहकारी ठगीमा लामिछानेलाई दोषि ठहर गर्दै प्रतिवेदन तयार’ भनेर समाचार प्रकाशित भएको थियो ।
छानबिन समितिले सुझाव सार्वजनिक गरेको दोस्रो दिन अर्थात असोज १ गते कान्तिपुर दैनिकमा सहकारीको ६५ करोडमा जिबी र रविको रजगज शीर्षकमा व्यानर हेडलाईन बनाइएको छ ।
कान्तिपुरले रवी सहकारी ठगीमा दोषि रहेको समाचार प्रकाशित गरेको अर्काे दिन अर्थात असोज १ गते नयाँ पत्रिका दैनिकले सहकारी ठगी आरोपमा रविले सफाई पाएको र गोरखा मिडियामा भित्रिएको रकममा मात्र रवी जवाफदेही हुने समाचारलाई मुख्य बनाएर प्रकाशित गरेको छ ।
यी दुई पत्रिकामा एक दिनको फरकमा एउटै विषयमा प्रकाशित समाचारले पाठकलाई दोधारमा पार्छ । संसदीय समितिको प्रतिवेदनमा भने ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटर्वक प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्जालकहरु अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालिन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ उल्लेख गरिएको छ ।
प्रतिवेदनले कान्तिपुरले दाबी गरेजस्तो सहकागी ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पनि देखाउँदैन र नयाँ पत्रिकाले दाबी गरेजस्तो सफाई पाएको पनि देखाउँदैन । बाँकी मिडियाको समाचारको समिक्षा गर्ने जिम्मा पाठकहरुलाई ।
यसबीचमा पनि दुवै मिडियामा लामिछानेको पक्ष र विपक्षमा समाचार प्रकाशित भइरहन्छन् । जब लामिछानेलाई संसदीय समितिको प्रतिवेदनमा गरिएको कारबाही सिफारिस अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कात्तिक २ गते साँझ पक्राउ गरेर पोखरा लग्यो । कात्तिक ३ मा दुई पत्रिकामा प्रकाशित भएका समाचार पनि रोचक छन् । कान्तिपुर दैनिकले सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछाने पक्राउ भनेर मुख्य समाचार छापेको छ ।
सोही दिनको नयाँ पत्रिकाले सहकारीमा पत्यक्ष नजोडिएका रवी समातिय, जोडिएका कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धान बाहिरै शीर्षकमा मुख्य समाचार बनाएको छ ।
उक्त दिन यी दुई पत्रिकामा आएका समाचारले पनि पाठकहरुलाई दोधारमै राखेको छ ।
लामिछाने पक्राउ परेको तेस्रो दिन अर्थात कात्तिक ४ गते कान्तिपुरले भित्री पृष्ठमा लामिछानेलाई अदालतमा पेस गर्न लागिएको समाचार प्रकाशित गरेको छ ।
सोही दिन नयाँ पत्रिकाले भने ‘रवीलाई पक्राउ गर्न राज्यको हतारो, बोलाइएका थिए बिदामा बस्न खोजेको न्यायाधीश’ शीर्षकमा पहिलो पृष्ठमा समाचार लेखेको छ ।
बयानका क्रममा कास्कीबाट चितवन ल्याइएका लामिछानेलाई चितवनबाट मंसिर १९ गते राती नै कास्की लगिएको विषयमा नयाँ पत्रिकाले लामिछानेमाथि प्रहरीको अस्वाभाविक र शंकास्पद व्यवहार भन्दै पहिलो पृष्ठमा समाचार छापेको छ । समाचारमा प्रहरीले बल प्रयोग गर्दै झुक्याएर मध्यराति पोखरा पुर्याएको, ज्यादती भएको र प्रहरीले मानव अधिकार हनन गरेको आरोप लगाइएको छ ।
तर यस विषयमा कान्तिपुर पत्रिकाले समाचार प्रकाशित गरेको छैन । कान्तिपुरको अनलाईन संस्करणमा भने बयान सकिएपछि लामिछानेलाई मंसिर २० गते बिहान पोखरा लगिएको समाचार प्रकाशित गरिएको छ ।
लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको विषयमा मानवअधिकारको उल्लंघन भएको भन्दै विभिन्न पक्षबाट चासो राखिएको र मानव अधिकार आयोगले समेत छानबिन सुरु गरेको भन्दै नयाँ पत्रिकासहितका मिडियाले ती समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन ।
तर कान्तिपुरले भने लामिछानेको मानव अधिकार उल्लंघन भएको सम्बन्धी कुनै पनि समाचार प्रकाशित गरेन ।
मंसिर २३ गतेको कान्तिपुर पत्रिका र अनलाईन संस्करणमा रवी र सहकारी पिडितबीच अदालतको इजलासमा वादविवाद भएको समाचार प्रकाशित गरिएको छ ।
सोही दिन नयाँ पत्रिकाले लामिछानेको स्वास्थ्य अवस्थाको वेवास्ता गर्दै मध्यरातमा हिडाएको पुष्टि भएको समाचार प्रकाशित गरेको छ ।
प्रहरीले लामिछानेलाई लामो समयसम्म हिरासतमा राखेर अनुसन्धान टुंग्याएपछि पुस २ मा कान्तिपुरले पत्रिकाको प्रथम पृष्ठमा सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ५१ जनाबाट एक अर्ब ३५ करोड असुल्न प्रहरीको राय शीर्षको समाचार प्रकाशित भएको छ ।
सोही दिन नयाँ पत्रिकाले छानबिन समितिले तीन महिनाभित्र सहकारी प्राधिकरण गठन गरेर पाँच लाख भन्दा कम बचत गर्नेको रकम फिर्ता गर्न सरकारलाई सुझाव दिएको समयावधी सकिएपनि सरकार रवीको मात्र पछि लागेको तर सहकारी पिडितले एक रुपैयाँ नपाएको समाचार मुख्य बनाएर प्रकाशित गरेको छ । पत्रिकाले प्रतिशोध सहित रविमाथि अनुसन्धान गरेको र हदम्याद नाघेर मुद्दा दायर गर्न लागिएको उल्लेख गरेको छ ।
प्रहरीको लामो अनुसन्धानपछि २०८१ पुस ७ मा लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा तीन फरक फरक कसुरमा मुद्दा दर्ता भएको अर्काे दिन कान्तिपुर दैनिकले रास्वपा घोषणापछि पनि लामिछानेले काट्दै थिए गोर्खा मिडियाका चेक, आफ्नै नाममा सार्दै गिए पैसा भनेर मुख्य समाचार बनाएको छ भने छामिछाने सांसदबाट स्वतः लिनम्बित, सभापति पदमाथि पनि प्रश्न भनेर अर्काे समाचार पनि मुख्य पृष्ठमै प्रकाशित गरेको छ ।
त्यस्तै सोही दिनको पत्रिकाको भित्री पृष्ठमा लामिछानेलाई व्यंग गर्दै कार्टुन समेत प्रकाशित गरेको छ ।
अर्काेतर्फ सोही दिनको नयाँ पत्रिकाले रविसहित ४४ विरुद्ध मुद्दा, सत्ताको आडमा एमाले नेता पहारीलाई भने उन्मुक्ति शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
सहकारी ठगी सम्बन्धी छानबिन समितिले रिपोर्ट बुझाएदेखि प्रहरीले लामिछानेलाई पक्राउ गर्दै अनुसन्धान टुंग्याएर अदालतमा मुद्दा तर्दा गर्दासम्मको तीन महिनाको अवधिमा दुई पत्रिकामा प्रकाशित भएका समाचार हेर्दा कान्तिपुरले निरन्तर लामिछानेको विरोधमा समाचार लेखेको देखिन्छ । कान्तिपुरले लामिछानेको पक्षमा देखिएका समाचारलाई निरन्तर निषेध गरेको देखिन्छ । अर्काेतर्फ नयाँ पत्रिकाले लामिछानेको पक्षमा पैरवी गर्दै निरन्तर समाचार प्रकाशित गरेको देखिन्छ । अझ भन्नुपर्दा कान्तिपुरले सबै समस्याको जड लामिछाने हुने जसरी समाचार प्रकाशित गरेको छ भने नयाँ पत्रिकाले रवी निर्दाेश हुन उनलाई प्रतिशोध राखेर पक्राउ गरिएको हो भन्ने हिसाबले समाचार प्रकाशित गरेको छ ।
लामिछाने दोषि हुन वा निर्दाेष त्यो न्याय निरुपणबाट टुंगिने छ तर तीन महिनाको अवधिमा दुई ठूला मिडिया कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारले भने निष्पक्ष पत्रकारिताको खोजि गर्छ । निष्पक्षता र सन्तुलन मिडियाको विश्वसनियताका लागि निकै नै महत्वपूर्ण मानिन्छ ।
यो सामग्री तयार पार्दै गर्दा दि गार्जिएनमा प्रकाशित भएको आइरिस साइन्स राइटर डेभिड रोवर्ट ग्रिम्सको एउटा आलेख पढदै थिएँ । इम्पार्सियल जर्नालिज्म इज लाउडेबल बट फल्स ब्यालेन्स इज डेन्जरस अर्थात निष्पक्ष पत्रकारिता सहरानिय हुन्छ तर गलत सन्तुलन खतरनाक हुन्छ शीर्षकको उक्त आलेखको पहिलो हरफमा लेखिएको छ, निष्पक्षता असल पत्रकारिताको मुटुमा हुन्छ, पूर्वाग्रहबाट टाढा रहनु सम्मानित मिडिया हाउसका लागि गर्व गर्ने कुरा हो । र यो प्रशंसनीय छ, किनकि यस किसिमको बहस स्वस्थ मिडिया र सूसुचित समाजका लागि महत्वपूर्ण हुन्छ ।
इन्टरनेटमा खोज्दै जाँदा मिडिया पूर्वाग्रह सम्बन्धी एउटा रिसर्च पेपर पनि फेला पर्यो । त्यसमा १७ किसिमका मिडिया बायस अस्तित्वमा रहेको उल्लेख गरिएको रहेछ । हाम्रो पूर्वाग्र कुन समुहमा पर्छ भनेर जान्नका लागि यो रिसर्च अवस्य पनि उपयुक्त हुनसक्छ ।