पासाङ, जसले राजा महेन्द्रको आग्रहमा फ्रान्सबाट फर्किएर स्याउको ‘ब्राण्डि’ सुरु गरे

पासाङ, जसले राजा महेन्द्रको आग्रहमा फ्रान्सबाट फर्किएर स्याउको ‘ब्राण्डि’ सुरु गरे

Nepalobserver
Monday, August 19 2024
Nepalobserver
Monday, August 19 2024
  • वसन्त खड्का

    सामान्यतः ब्रान्डी (अल्कोहल बेभेरेज) अंगुरबाटै बनाइन्छ । कतिपय मुलुकमा नास्पाती, स्याउ अथवा चेरिबाट पनि ब्राण्डि बनाइन्छ तर अंगुरबाहेक अन्य फलफुलबाट बनाइएको ब्राण्डिमा के बाट बनाइएको हो भनेर उक्त फलफुलको लेवल पनि लगाउनु पर्छ । 

    brandy.jpeg

     

    brandy1.jpeg


    त्यस्तै फरक अभ्यास नेपालमा वि.सं. २०३२–०३३ को आसपासमा मुस्ताङबाट  सुरु भएको थियो । पासाङ खम्बाचे शेर्पाले पञ्चायतकालमा स्याउबाट ब्राण्डिको उत्पादन थालेका थिए ।  
    पत्रकारिताको सुरुवाती दिनमा केही फरक र इतिहास, परम्परा, संस्कृति जस्ता विषयमा विषयमा रिपोर्टिङ गर्ने रुची थियो । विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा फरक फरक व्यक्तिहरुसँग भेटघाट हुन्थ्यो । त्यसै शिलशिलामा कृषि वैज्ञानिक तथा कृषि विभागका पूर्व महानिर्देशक शिवबहादुर प्रधानसँग पनि बेला बेलामा भेट भइरहन्थ्यो ।

    shiva b pradhan1.jpg
    कृषि वैज्ञानिक शिवबहादुर प्रधान

    २०७४ असारको एक दिन उहाँसँग कुरा गर्दा उहाँले मुस्ताङमा पञ्चायतकालमै स्याउको ब्राण्डि उत्पादन सुरु भएको जानकारी गराउनु भएको थियो । स्याउबाट ब्राण्डि उत्पादन भएको कुरा आफैमा रुचीकर थियो । र ब्राण्डि उत्पादन गर्ने व्यक्तिका बारेमा प्रधानले बताएको कुरा अझ रुचीकर थियो । यस विषयमा कृषि वैज्ञानिक प्रधानको ढोलाहिटीस्थित निवासमा पुगेर कुरा गरेको थिएँ ।  स्याउको ब्राण्डि उत्पादन गर्ने पासाङका बारेमा विभिन्न विदेशी लेखकहरुले उल्लेख गरेका सन्दर्भ सामग्रीहरु पनि फेला परे । त्यसपछि एउटा स्टोरी नै तयार भयो जुन नागरिक दैनिकमा पनि प्रकाशित भएको थियो । 

    केही समय अघी प्रकाशित भएको चर्चित पुस्तक राष्ट्र परराष्ट्रमा लेखक भेषबहादुर थापाले आफूले अमेरिकामा अध्ययन गरिरहेका बेला विं.सं. २०१७ सालमा अमेरिका भ्रमणमा रहेका राजा महेन्द्रले स्वदेश फर्किन आग्रह गरेपछि आफू स्वदेश फर्किएको उल्लेख गरेका छन् ।

    thapa.jpeg

    मुस्ताङमा स्याउबाट ब्राण्डि उत्पादन गर्ने पासाङ खम्बाचे शेर्पा पनि राजा महेन्द्रकै आग्रहमा स्वदेश फर्किएका व्यक्ति हुन् । राजा महेन्द्रले विदेशमा बसेर राम्रो काम गरिरहेका नेपालीहरुलाई देश निर्माणका लागि स्वदेश फर्किन आग्रह गर्थे भन्ने उदाहरण हुन थापा र शेर्पा ।  यो स्टोरी तिनै शेर्पा कसरी नेपाल आएर मुस्ताङमा स्याउ ब्राण्डिको सुरुवात गरे भन्ने बारेमा हो ।  
    दशकभन्दा बढी युरोपमा बसेका पासाङ खम्बाचेले फ्रान्समा बागवानी (हर्टिकल्चर) अध्ययन गरेर नेपाल फर्किएका थिए । उनी फ्रान्समा रहेका बेला सन् १९६६ मा राजा महेन्द्र फ्रान्स भ्रमण गएका थिए । त्यतिबेला पासाङले पनि राजा महेन्द्रसँग भेट्ने अवसर पाएका थिए । भेटमा राजा महेन्द्रले उनलाई नेपाल फर्किन आग्रह गरेपछि पासाङले नेपालमा काम लाग्ने केही सीप सिकेपछि मात्र फर्कने बताएका थिए। उनले राजा महेन्द्रसामु हर्टिकल्चरसम्बन्धी अध्ययन गर्ने इच्छा व्यक्त गरेका थिए । लगत्तै राजा महेन्द्रले तत्कालीन फ्रान्सका राष्ट्रपति जनरल चार्ल्स डिगललाई पासाङको चाहना पूरा गरिदिन अनुरोध गरेको पासाङको नजिक रहेर काम गरेका कृषि बैज्ञानिक प्रधानले जानकारी गराएका थिए । त्यसपछि पासाङले हर्टिकल्चरसम्बन्धी अध्ययन गर्ने अवसर पाएका थिए । पासाङलाई राजा महेन्द्रले स्वदेश फर्कन आग्रह गरेको विषयलाई लेखक माइकल भिन्डिङले आफ्नो पुस्तक ‘दी थकाली’मा पनि उल्लेख गरेका छन् ।

    the thakali1.jpg
    बेलायती प्रोफेसर डेभिड स्नेलग्रोभ बौद्ध धर्मसम्बन्धी अध्ययन गर्न भारत हुँदै नेपाल आउँदा सन् १९५६ मा पासाङ उनको सहयोगी बनेर काम गरेका थिए । तिब्बतको तासिलन्पो विहारमा तिब्बतियोलोजी अध्ययन गरिरहेका पासाङ भारतको कालिङपोङमा तिब्बतियन पाण्डुलिपिमा काम गर्दै गर्दा उनीसँग जोडिएका थिए । पासाङलाई नजिकबाट चिन्ने कृषि वैज्ञानिक प्रधान पासाङले प्रोफेसर स्नेलग्रोभको कुक तथा पथप्रदर्शकका रूपमा काम गरेको बताउँछन् । उनै प्रोफेसर स्नेलग्रोभले पासाङलाई पछि युरोप लगेर एक दशकसम्म बस्ने वातावरण मिलाइदिए ।

    पासाङसँग नेपालका विभिन्न मन्दिर तथा गुम्बामा घुमेर विभिन्न धार्मिक कार्यक्रमको जानकारी संकलन गरेका स्नेलग्रोभले १९५७ बुद्धिष्ट हिमालय र सन् मा १९६१ मा ‘हिमालय पिलगिमेज’ पुस्तक प्रकाशित गरेका थिए । ‘हिमालय पिलगिमेज’ पुस्तकलाई उनले पासाङप्रति समर्पित गरेका थिए ।

    pasang1.jpg

     

    pasanh4.jpg
    प्रोफेसर स्नेलग्रोभले पासाङका बारेमा आफ्नो पुस्तक  ‘हिमालय पिलगिमेज’ मा लेखेको एक अंश


    पासाङबारे डेनिस कूटनीतिज्ञ माइकल भिन्डिङले आफ्नो पुस्तक ‘दी थकाली’ मा लेखेका छन्, ‘पासाङ खम्बाचे शेर्पाले प्रोफेसर स्नेलग्रोभको १९५६ को चर्चित यात्रामा साथ दिएका थिए । पछि स्नेलग्रोभले उनलाई युरोप लगे, जहाँ उनी दशकभन्दा बढी बसे र फ्रान्समा केही वर्ष हर्टिकल्चरसम्बन्धी अध्ययन समेत गरे ।’  

    Thakali.jpg

    कृषि वैज्ञानिक प्रधान पासाङ करिब आठ वर्ष स्नेलग्रोभसँग बेलायत बसेको र पछि फ्रान्स गएको बताउँछन् ।स्नेलग्रोभले आफ्नो पुस्तक ‘हिमालय पिलगिमेज’ मा पनि यसबारेमा उल्लेख गरेका छन् । 

    pasang3.jpg


    कृषि वैज्ञानिक प्रधान वि.सं. २०२१ तिर कीर्तिपुर बागवानी अनुसन्धान केन्द्रको  इन्चार्जका रुपमा कार्यरत थिए । एक दिन उनले मध्याह्नको टन्टलापुर गर्मीमा एक जना मानिसले सिंहदरबारस्थित पुतली बगैँचामा काम गरिरहेको देखे । प्रधानलाई पासाङले फ्रान्सबाट हर्टिकल्चर अध्ययन सकेर स्वदेश फर्किएको विषयमा जानकारी थियो तर बगैँचामा काम गरिरहेको व्यक्ति पासाङ हुन् भन्ने उनलाई थाहा थिएन । किनकि उनले पासाङका बारेमा सुने पनि प्रत्यक्ष भेटेका थिएनन् । उनले बगैँचामा काम गरिरहेका व्यक्तिलाई अनुमानको भरमा पासाङजी भनेर बोलाए । काम गरिरहेका व्यक्तिले प्रतिक्रिया जनाएपछि उनी नै पासाङ हुन् भन्ने कुरा बल्ल प्रधानलाई थाहा भयो ।
    पासाङको काम गर्ने शैली देखेर प्रधान निकै प्रभावित थिए । ‘दिउँसोको चर्काे गर्मीमा पनि उनको काम गर्ने शैली देखेर म साँच्चै प्रभावित भएको थिएँ,’ प्रधानले विगत स्मरण गर्दै भनेका थिए । पासाङको कामबाट प्रभावित प्रधानले उनलाई सहयोग गर्न सुरुमा कन्ट्र्याकमा लिएर अंगुरखेतीको अध्ययन सुरु गरे । सुरुमा काठमाडौंको नारायणथानभन्दा माथिको टुङ बगैँचामा अंगुरखेती गर्नेबारे अध्ययन गरे । पासाङले त्यहाँ अंगुरखेती नहुने बताएपछि त्यो योजना त्यहीँ टुंगियो । केही समयपछि पाँच वर्षको कन्ट्र्याकमा पासाङ दुर्गम क्षेत्रमा गए ।
    शैक्षिक योग्यता हिसाबले पासाङसँग बौद्ध गुम्बामा दुई वर्ष पढेको अनुभव मात्र थियो । फ्रान्समा हर्टिकल्चर तालिम लिएका उनीसँग व्यावहारिक ज्ञान भने थियो । त्यही ज्ञानका आधारमा उनले पाँच वर्ष दुर्गम क्षेत्रमा सेकेन्ड क्लास अधिकृत सरहको सेवा सुविधामा काम गरे । उनलाई सिफारिस गर्ने प्रधान नै थिए । पासाङले पाँच वर्षको समयावधि सकेर काठमाडौं फर्कंदा प्रधान कृषि विभागको महानिर्देशक बन्दै थिए । पासाङले प्रधानलाई भेटेर आफूलाई फस्ट क्लास अधिकृतमा बढुवा गरिदिन र दुर्गम क्षेत्रमा नपठाउन अनुरोध गरे । त्यतिबेला प्रधानले उनीसँग एउटा सर्त राखे, मुस्ताङ, मनाङ र डोल्पोमा गएर स्याउ र अंगुर फार्मको सुपरभिजन गरे फस्ट क्लास अधिकृतमा बढुवा गरिदिने । त्यो प्रस्तावलाई पासाङले स्वीकार गरेपछि पासाङलाई मुस्ताङ पठाएको प्रधान बताएका थिए ।

    जिम्मेवारी वहन गरी मुस्ताङ पुगेका पासाङले केही समयपछि प्रधानसामु एउटा नयाँ प्रस्ताव लिएर आएका थिए । स्याउको ब्रान्डी बनाउन सुरु गर्ने उनको प्रस्ताव थियो । पासाङको प्रस्ताव सुनेर प्रधान आश्चर्यमा परे । ‘मैले स्याउको ब्रान्डीबारे कहिल्यै सुनेको समेत थिइनँ, त्यसैले उनको प्रस्तावले मलाई आश्चर्यमा पा¥यो,’ प्रधानले कुराकानीका क्रममा भनेका थिए । प्रधानलाई स्याउको साइडर र वाइन बन्छ भन्ने थाहा थियो । ब्रान्डी बनाउने प्रस्ताव नौलो र आश्चर्यजनक थियो । प्रस्तावलाई उनले स्वीकार गरिदिए । त्यसपछि पासाङले प्रधानसँग त्यसको प्रशोधन मेसिनको माग गरे । मेसिन कहाँबाट ल्याउने भनेर प्रधानले प्रश्न गर्दा पासाङले पाटन औद्योगिक क्षेत्रमा आफैँले बनाउन लगाउने बताएका थिए ।
    आफूलाई त्यस विषयमा जानकारी नभए पनि प्रधानले पासाङलाई अनुमति दिए । मेसिन बनिसक्दा यति ठूलो भयो कि ट्रकमा पनि राख्न नमिल्ने र हवाई जहाजमा पनि नअट्ने । पासाङले मेसिनलाई हेलिकोप्टरमा झुन्ड्याएर जोमसोम लैजाने प्रस्ताव गरे । त्यो प्रस्ताव पनि स्वीकृत भयो । जोमसोम लगेको मेसिन स्याउ फार्ममा लगे पनि घरमा भने अटेन । त्यसका लागि पासाङले घरको सिलिङ भत्काएर घरभित्र मेसिन राखेको र पछि छाना लगाएको प्रधानले बताएका थिए । पासाङको त्यो गज्जबको तरिका देखेर आफू अझ बढी प्रभावित भएको तत्कालीन कृषि विभागका महानिर्देशक समेत रहेका प्रधानले बताएका थिए ।
    पासाङको योजनाअनुसार वि.सं. ०३२÷३३ बाट मुस्ताङबाट ब्रान्डी उत्पादन  सुरु भयो। उनको काम सफल भयो र चौतर्फी प्रशंसा पनि । ‘पासाङले कुशलतापूर्वक स्याउको ब्रान्डी बनाउन सफल भए, उनको ब्रान्डीको तत्कालीन राजा वीरेन्द्रसमेत पारखी बनेका थिए,’ प्रधानले कुराकानीका क्रममा भनेका थिए । मुस्ताङको ब्रान्डी आउँदासम्म राजा वीरेन्द्रले अन्य मदिरालाई बेवास्ता गरेको प्रधानले बताएका थिए । प्रधानको कुरामा सहमत जनाउँदै मार्फाका व्यापारी विष्णुराज हिराचनले पनि त्यतिबेला मुस्ताङमा पासाङले उत्पादन गरेको स्याउको ब्रान्डी नियमित दरबारमा जाने गरेको बताएका थिए ।
    हर्टिकल्चरको क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेका पासाङको ७० वर्षको उमेरमा  ०५३ वैशाखमा निधन भएको थियो ।

     पासाङबारे माइकल भिन्डिङले आफ्नो पुस्तक ‘दी थकालीमा’ लेखेका छन्, ‘पासाङले एक दिन थाकखोलालाई फलफूलका रूखले छोप्नेछन् भनेर सहमत गराएको थियो, भविष्यले ऊ सही थियो भन्ने पुष्टि गरेको छ ।’

    the thakali2.jpg

     

    Pasang david-snellgrove-1.jpg
    १९६३ मा प्रोफेसर डेभिड स्नेलग्रोभको घरमा प्रोफेसरसँगै बौद्ध भिक्षुहरुसँग कालो रंगको कपडामा पासाङ । स्रोतः एसओएएस सेन्टेनरी नाइमलाईन 


    प्रोफेसर डेभिड स्नेलग्रोभले ‘प्लेस अफ पिल्गिमेज इन थाग (थाकखोला)’ मा पहिलोपटक सन् १९५६ मा भेटिएका पासाङलाई १९७८ मा नेपाल भ्रमणमा पुनः भेट्दा विगतको सबै सम्झना ताजा भएको उल्लेख गरेका छन् ।

     

    Comments
    Releted News

    © 2026 All right reserved to Nepalobserver.com  | Site By : SobizTrend