नेपाल रिपब्लिक मिडिया नेपालको ठूलो सञ्चार संस्था मात्र नभएर मिडिया क्षेत्रबाट आइपिओ जारी गर्ने पहिलो संस्था पनि हो । कम्पनी घाटामा जाँदा पनि नाफा देखाएर आइपिओ जारी गरेको भनेर संस्थाका बारेमा आलोचना पनि हुँदै आएको छ । घाटामा गएको कम्पनीलाई कागजमा कसरी नाफामा देखाएर आइपिओ जारी गरियो भन्ने विषयमा माइसंसार डटकमले सिरिजमै स्टोरी लेखेको छ ।
संस्थामा कामगर्ने पत्रकार तथा कर्मचारीलाई महिनौँसम्म तलव तथा सेवा सुविधा नदिएको भन्दै थप आलोचना खेपिरहेको कम्पनीको आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासिकको नाफा भने २८८ प्रतिशतले बढेको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीका सिइओ समृद्धि ज्ञवालीले फेसबुकमार्फत कम्पनीले नाफा कमाएको समाचार सेयर गरेपछि धेरैले उनलाई बधाई दिएका छन् । कतिपयले भने उनको पोस्टमा आलोचनात्मक टिप्पणी पनि गरेका छन् ।
पत्रकार विकास कार्कीले ज्ञवालीको पोस्ट फेसबुकमा सेयर गर्दै लेखेका छन्, ‘नागरिक यत्रो नाफामा जादा पनि पत्रकार र कर्मचारीहरुले २÷३ महिना देखि तलब अझै पाएका छैनन् । अझ जिल्लाका सवाददाताहरुको महिनौ भएको छ । करोडौं नाफा हुँदा समेत नियमित नहुने कम्पनीमा नियमित तलब हुन कति नाफा पुग्न पर्ला ? बोनस त कुरै नगरौ ।’
कार्कीको सोही पोस्टको स्क्रिनसट सहित सिइओ ज्ञवालीको फेसबुक पोस्टमा कमेन्ट गरेका कान्तिपुर टेलिभिजनका रुकुम सम्वाददाता महेश केसीसँग भने सिईओ ज्ञवालीले कमेन्टबाटै आक्रोस व्यक्त गरेकी छिन् । ज्ञवालीले केसीको कमेन्टमा लामो जवाफ दिएकी छिन् । जवाफको अन्त्यमा उनले लेखेकी छिन, ‘तपाईको काम निराशा, अरुको आलोचना र गुनासो गर्ने तथा समस्या नै नभएका विषयलाई समस्या सिर्जना गर्नेमा सिमित छ । र ध्यान दिनुपर्ने कुरा तपाई कान्तिपुरका लागि काम गर्नुहुन्छ?!’ उनले आफ्नो पोस्टमा सबैभन्दा धेरै लाईक र कमेन्ट नेपाल रिपब्लिक मिडियाकै पत्रकारहरुको आइरहेको पनि उल्लेख गरेकी छिन् ।
कम्पनीको नाफा बढेको विषयमा माइसंसार डटकमले कसरी घाटामा गइरहेको कम्पनीलाई नाफामा देखाउनका लागि चलाखी गरियो भनेर प्राविधिक विश्लेषण सहितको नयाँ स्टोरी तयार पारेको छ ।