ललितपुरको लगनखेल बसपार्क नजिकै चौतारी सहितको एउटा ठूलो खरिको रुख देख्न सकिन्छ । लगनखेल जाने मानिसहरुको थकाई मेटने उक्त चौतारि सहितको रुखको विशेषता भने अनौठो छ । वि.सं. २०७३ फागुनमा सो रुखको विशेषताबारे थाहा पाएपछि सबैभन्दा पहिले लगनखेलको छेउँमा खरिको रुख छ कि छैन भनेर पत्ता लगाउँन सो ठाउँमा पुगिएको थियो । त्यो ठाउँमा रुख रहेको पुष्टि भएपछि उक्त रुखका केही तस्वीर खिचेर रुखको बारेमा जानकार रातो मच्छिन्द्रनाथ मन्दिरका केही पुजारीहरुसँग कुरा गरेर स्टोरी तयार पारिएको थियो । सो स्टोरी २०७३ फागुन १४ मा नागरिक दैनिकमा प्रकाशित भएको थियो । पत्रिकाको पुरानो आर्काइभ उपलब्ध नरहेको र लिंक पनि फेला नपरेकाले त्यतिबेला फेसबुकमा राखेको समाचारको कटिङ यहाँ राखिएको छ ।
नेवारी भाषामा ‘माँसिंहा’ भनिने सो रुखलाई भगवान मच्छिन्द्रनाथकी आमाका रुपमा पुजा आजा गरिने रातो मच्छिन्द्रनाथ मन्दिरका आठौँ पुजारी धर्मरत्न शाक्यले जानकारी गराएका थिए । परापूर्वकालमा भगवान मच्छिन्द्रनाथले आफ्नी आमालाई सोही स्थानमा भेटेका कारण उक्त स्थानमा रुख रोपेर चौतारी निर्माण गरिएको र सो रुखलाई पनि माँसिंहा (आमा रुख) भनिएको शाक्यले बताएका थिए । काठमाडौ उपत्यकाको प्रमुख जात्रा मध्य रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा तीन पटकसम्म उक्त रुखको वरिपरि घुमाएपछि मात्र पूर्ण भएको मानिदो रहेछ ।
प्रत्येक वर्ष ललितपुरको पुल्चोकबाट सुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा गावल, सुन्धारा हुँदै दोस्रो दिन लगनखेल पु¥याइने र रथलाई खरिको रुख वरिपरि घुमाएर सोही रात रुखको तलपट्टी बोकाको बलि चढाइने प्रचलन रहेको शाक्यले बताएका थिए । लगनखेलसँगै स्वयम्भु स्थित गणेश मन्दिर, तथा भैरवनाथ मन्दिरमा पनि सोही रात बलि दिने प्रचलन रहेको रातो मच्छिन्द्रनाथ मन्दिरका पानेजो (पुजारी) मदन शाक्यले जानकारी दिएका थिए । रथलाई खरिको बोट वरिपरि घुमाएर बलि चढाउने प्रचलनलाई परिवार पुजा भनिँदोरहेछ । खरिको रुख भएको उक्त स्थानमा मच्छिन्द्रनाथले आमा तथा परिवारलाई भेट गरेकाले अहिले पनि उक्त स्थानमा बलि चढाएर परिवार पुजा गरिदै आएको पुजारी धर्मरत्न शाक्यले बताएका थिए । रुखको तलपट्टी अहिले पनि आमाको मुकुट राखिएको धर्मरत्न शाक्यले बताएका थिए । अहिले त्यो छ कि छैन भन्ने जानकारी भएन । रथ खरिको रुखमा पु¥याएर घुमाएपछि तीन वटा जात्रा पुरा भएको मानिने पुजारी मदन शाक्यले बताएका थिए ।
लगनखेलमा रहेको खरिको रुख वरिपरि रातो मच्छिन्द्रनाथको रथ घुमाउने प्रचलन मल्ल राजाका पाला देखि सुरु भएको रहेछ । अहिले पनि मल्ल राजाका सन्तानहरुले नै खरिको रुखमुनी पुजा चलाउने प्रचलन रहेको शाक्यले हामीलाई बताएका थिए । । ‘यो प्रचलन मल्ल राजाको समयमा सुरु भएको हो, अहिले पनि राजाकै सन्तानहरुले पुजा चलाउने प्रचलन रहेको छ,’ उनले भनेका थिए । खरिको रुखलाई आमाका रुपमा पुजा गर्ने प्रचलन निकै लामो समयदेखि चल्दै आएकाले यस अवधिमा लगनखेलमा रहेको सो चौतारामा कहियाँै रुखहरु बुढा भएर सुकेको र नयाँ रुख लगाउदै आएको धर्मरत्न शाक्यले जानकारी गराएका थिए । अहिले अस्तित्वमा रहेको रुख पनि निकै पुरानो रहेको उनले बताएका थिए ।
रातो मच्छिन्द्रनाथको रथलाई खरिको रुख वरिपरि घुमाएको अर्काे दिन रथको अगाडी रहेको बांगेमुढामा ६४ वटा बलि चढाइदो रहेछ । राँगा, बोका तथा विभिन्न अन्नहरुलाई समेत बलिका रुपमा चढाइने र दिउसो रथलाई तानेर पोडेटोलमा पु¥याउने प्रचलन रहेको रहेछ । रथलाई पोडेटोलमा पु¥याएपछि नरिवल खसाल्ने जात्रा सुरु हुने र त्यसपछि रथलाई सुभ मुहुर्त हेरेर शुभसाइतको अवसरमा जावलाखेल लगिने प्रचलन रहेछ । वर्षा र सहकालका देवताका रूपमा प्रख्यात रातो मच्छिन्द्रनाथको जात्रा वैशाख शुक्ल प्रतिपदाबाट सुरू भएर असारशुक्ल चौथीमा समाप्त हुने गर्छ । सो जात्रा केही दिन अघि मात्र सकिएको र प्रत्येक वर्ष दोहोरिरहने भएकाले पुरानो स्टोरीमा आधारित भएर यो ब्लग तयार पारिएको हो । ललितपुरको लगनखेलस्थित बसपार्कमा रहेको महासिंहा अर्थात खरिको रुख ।