स्वयम्भुबाट उकालो लागेर केही पर पुगेपछि इचंगुनारायण (हाल नागार्जुन नगरपालिका–३) मा नालापानी युद्ध ( सन १८१४ देखि १८१६ सम्म नेपाल र तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीबीच भएको पहिलो युद्ध) का नायक बलभद्र कुवरको भग्नावशेष अवस्थाको घर थियो । अहिले भग्नावशेष अवस्थाको त्यो घर छ कि छैन थाहा छैन । त्यसको बारेमा जानकारी पाएपछि २०७३ सालतिर त्यहाँ पुगेर अवलोकन गर्ने अवसर जुरेको थियो । २०७२ सालको भुकम्पले त्यो घरलाई थप जरजर बनाएको थियो ।
नालापानीबाट फर्केपछि बलभद्रले १८७२ मा निर्माण गरेको उक्त घरसँगै बलभद्र तथा उनका अन्य दुई दाजुभाई मिलेर बनाएको वीर भगवतीको मन्दिर समेत भूकम्पले चर्काएको थियो ।
बलभद्रको घरको अवलोकन तथा जानकारीका लागि कुवरका पाँचौँ पुस्ताका सन्तान तथा दरबार स्कुलका पूर्व प्राध्यानाध्यापक रामराज कुवरले सहयोगी भूमिका निर्वाह गरेका थिए । त्यहाँ पुग्दा अर्काे नयाँ कुरा पनि थाहा भयो । बलभद्रको घरको तलपट्टी बाटोको छेउमा रहेको करिब दुई सय वर्ष पुरानो नागेश्वर (मेसुवा फेरिया) को रुख पनि बलभद्रले नै रोपेको रामकृष्ण कुवरले जानकारी दिए । धार्मिक तथा आयुर्वेदिक महत्वसमेत बोकेको उक्त रुख सन् १८७२ मा बलभद्र कुँवरले रोपेको रामकृष्णले जानकारी गराएका थिए । श्रीलंका, भारतलगायत मुलुकमा पाइने उक्त प्रजातिका रुख हाल लोप हुने अवस्थामा पुगेको छ ।
होमलगायत धार्मिक प्रयोजनमा उपयोग हुने उक्त रुखबारे त्यतिबेला सरकारी निकायसँग सोधखोज गर्दा वन विभागले अनभिज्ञता प्रकट गर्दै नेपालमा एउटा÷एउटा रुख संरक्षण गर्ने प्रचलन नरहेको प्रतिक्रिया दिएको थियो । त्यतिबेला विभागका सूचना अधिकारी रहेका चन्द्रमान डंगोलले विदेशमा ऐतिहासिक महत्वका रुख संरक्षण गर्ने प्रचलन रहे पनि नेपालमा त्यस्तो नरहेको बताएका थिए । अहिले पनि नियम उस्तै त कि परिवर्तन भयो यस्ता विषयमा रुची हुनेले सोधखोज गर्दा हुनेहो । तर त्यतिबेला बलभद्र कुँवरका पनाँती सन्तान रामकृष्णराजले ऐतिहासिक महत्व बोकेको उक्त रुख संरक्षणमा सरकारी निकायले कुनै चासो नदेखाएपछि आफैंले पहल गरिरहेको बताएका थिए ।