मुलधारका मिडियाप्रतिको विश्वास किन घट्दैछ? (भिडियो सहित)

मुलधारका मिडियाप्रतिको विश्वास किन घट्दैछ? (भिडियो सहित)

Thursday, November 28 2024
Thursday, November 28 2024
  • वसन्त खड्का

    नोभेम्बर ५, २०२४ मा अमेरिकामा सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा विश्वभरका अधिकांश ठूला र मुलधार भनिएका मिडियाले राष्ट्रपतिमा प्रतिस्पर्धा गरिरहेका रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसबीच इतिहासमै तिव्र प्रतिस्पर्धा हुने अनुमान सम्प्रेषण गरेका थिए । तर निर्वाचनको नतिजा अमेरिकी मिडियाले सम्प्रेषण गरेको भन्दा फरक आयो । ट्रम्पले ठूलो मतान्तरले ह्यारिसलाई पराजित मात्र गरेनन अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत प्राप्त गरे । 

    media11.jpg


    विश्वभरका ठूला मिडियाले डेमोक्र्याट उम्मेद्वार ह्यारिसलाई एकतर्फी समर्थन गरेको भन्दै रिपब्लिकन उम्मेद्वार ट्रम्पका समर्थक एवं सामाजिक सञ्जाल एक्सका मालिक एलन मक्सले लिगेसी मिडियाको चर्काे आलोचना गरिरहे ।

    IMG_2147.jpeg
    मुलधारको मिडियाको आलोचना गरेको पोस्टमा मक्सको समर्थन  

    २६ अक्टोबर  २०२४ मा अमेरिकाको पेन्सिलभेनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रेसमा केही गलत भइरहेको भन्दै नागरिक पत्रकारिताको वकालत गरेका थिए । 

    IMG_2149.jpeg
    मुलधारको मिडियाको अनुमान विपरित अमेरिकामा ट्रम्पले राष्ट्रपतिमा सहज जित निकालेपछि मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्यले सामाजिक सञ्जाल एक्समा व्यंग गरे, ‘अम्रिका र विश्वका ठूल्ठूला मिडियाले अम्रिकाको चुनावमै खतरै प्रतिस्पर्धा हुँदैछ भने, होला त नी भनियो नतिजा आउँदा ट्रम्पको दलले राष्ट्रपति र दुबै सदन सजिलै जित्यो । ती मिडिया पढेर गफ दिनेलाई चियापसल जानै अफ्टेरो !’  आचार्यको भनाई मिडिया आएको सामग्रीका आधारमा मानिसले कसरी आफ्नो  धारणा निर्माण गछर्न र ति सामग्री गलत साबित हुँदा सामाजिक जीवनमा कस्तो असर पर्छ भन्नेमा केन्द्रीत देखिन्छ ।  

    IMG_2150.jpeg
    आचार्यको स्टाटसको स्क्रिन सट


    जुन २०२४ मा भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा भारतीय मुलधारका मिडियाले प्रधानमन्त्री नरेन्द्र मोदीले दुई तिहाई वा सहज बहुमत प्राप्त गर्ने सर्वेक्षण सहितका समाचार प्रसारण गरिरहेका थिए ।

    media trust6.jpg

    चुनावी परिणामा भने भारतीय मिडियाले गरेको अनुमान विपरित आयो । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी (बिजेपी) एक्लैले बहुमत प्राप्त गर्न सकेन । मोदी गठबन्धनको सहयोगमा प्रधानमन्त्री बन्नुपर्यो । बरु विपक्षी दलले विगतमा भन्दा राम्रो मत प्राप्त गरे ।

    भारतीय मिडियामाथि प्रधानमन्त्री मोदीप्रति बढी बफादार भएको आरोप लाग्ने गर्छ । भारतीय मुलधारका मिडियालाई गोदी मिडियाका रुपमा पनि आलोचना गर्ने गरिन्छ । भारतीय मिडियाप्रतिको विश्वसनियता कम हुँदै जाँदा त्यहाँ वैकल्पिक मिडियाका रुपमा युटुव लगायतका सोसल नेटवर्कहरुले पब्लिकको विश्वास जितिरहेको पाइन्छ । युटुवर ध्रुव राठीको उदय यसको एउटा उदाहरण हो ।
    नेपालमा पनि मिडिया पूर्वाग्रही भएको आरोप लाग्ने गरेको छ । कुनै खास खास समयमा मिडियाले कुनै राजनीतिक दल, सरकार वा व्यापारिक समुहप्रति झुकाव राखेर सामग्री तयार पारेको आरोप लाग्नेगर्छ । कतिपय अवस्थामा ठूला राजनीतिक दलहरुका बीचमा हुने सहमति, सम्झौता र सरकार निर्माणको काममा समेत मिडिया  मालिकहरुले मध्यस्तता गरेका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।

    media13.jpg
    नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन बनाउन अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाको भूमिकाका बारेमा कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई

    नेपाली मिडिया  आफ्नो प्रतिकुल वा स्वार्थ बाझिने कुरामा कति पूर्वाग्रही हुन्छन् भन्ने उदाहरण अग्रणी मिडिया हाउस कान्तिपुर दैनिकले प्रकाशित गरेको टिकटक सम्बन्धी सामग्री हेर्दा प्रष्ट हुन्छ । कान्तिपुर दैनिकले प्रहरीले उपलब्ध गराएको तथ्यांकलाई उदृढ गर्दै २०८० कात्तिक २१ मा साइबर अपराधसम्बन्धी समाचार प्रकाशित गर्यो । मुख्य पृष्ठमा छापिएको समाचारमा अधिकांश साइबर अपराध टिकटकसँग सम्बन्धीत रहेको दाबी गरिएको छ ।

    tiktok.png

    पत्रिकाले कात्तिक २२ मा टिकटकले फैलाएको उन्माद कहिलेसम्म भन्दै सम्पादकीय पनि लेख्यो ।

    media18.jpg

    त्यसको एक सातापछि नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो ।
    कान्तिपुरले साइबर अपराधका घटनामा टिकटकलाई प्रमुख रुपमा देखाएपनि तथ्यांकले भने फेसबुक र म्यासेन्जरलाई अगाडी देखाएको थियो । प्रहरीको तथ्यांक अनुसार साइबर अपराधमा फेसबुकको हिस्सा ८० प्रतिशत थियो भने टिकटकको ७ प्रतिशतमात्रै थियो । तर कान्तिपुरले तथ्यांकलाई बंग्याउँदै टिकटक प्रतिबन्धका लागि वकालत गर्यो । कान्तिपुरमा समाचार प्रकाशित भएसँगै नेपाल फ्याक्टचेकले उक्त समाचारको तथ्यांकका बारेमा तथ्यजाँच समेत गरेको थियो । 

    media17.jpg


    देशको अग्रहणी मिडिया मध्यको एक नेपाल रिपब्लिक मिडिया ( जसले नागरिक दैनिक समेत प्रकाशित गर्छ ) आइपियो जारी गरेर पब्लिक कम्पनीका रुपमा  नेपाल स्टक एक्चेन्जमा सूचीकृत छ । गलत प्रवृत्तिका विरुद्ध प्रश्न गर्नुपर्ने उक्त मिडियाले आफैमाथि प्रश्न उठ्ने गरी घाटामा रहेको कम्पनीको कृतिम नाफा देखाएर आइपियो जारी गरेको आरोप लागेको छ । यस बारेमा माइसंसार डटकमले चिरफार गरेको छ ।

    media14.jpg
    माइसंसार डटकमले चिरफार गरेको सामग्रीको स्क्रिन सट

    नेपालमा मिडियामाथि गलत कृयाकलापबाट आर्जन गरेको सम्पत्ति लगानी भइरहेको आरोप लागिरहेका बेला सहकारी ठगीसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिले आफ्नो रिपोर्टमा गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिन), अन्नपूर्ण मिडिया नेटवर्क (एपी वान टेलिभिजन) लगायतमा  सहकारी ठगी गरेको रकम लगानी गरिएको उल्लेख गरेको छ । यसले नेपालमा नेपालका लिगेसी मिडियाप्रति थप प्रश्न खडा भएको छ । 

    media23.jpg
    सहकारी गठी छानबिन सम्बन्धी संसदीय समितिले तयार पारेको रिपोर्टको अंश ।


    नेपालको सन्दर्भमा मिडियाका आफ्ना कमजोरी हुँदा हुँदै पनि पपुलिज्ममार्फत उदाएका व्यक्ति तथा राजनीतिक दलले मिडियालाई तारो बनाउँदा पनि मिडियाप्रति आम मानिसको विश्वास थप कमजोर हुँदै गएको छ । मिडियाकर्मबाट राजनीतिमा उदाएका रवी लामिछाने, अफवा फैलाएर जनमत आकर्षित गर्ने मेडिकल व्यवसायी  दुर्गा परसाई लगायतले लिगेसी मिडियामाथि निरन्तर प्रहार गर्दै आएका छन् । त्यसले मानिसहरुमा मुलधारका मिडिया भनेको पूर्वाग्रहरी सूचना सम्प्रेषण गर्ने माध्यम हुन  भन्ने भ्रम पारेको देखिन्छ ।  लामिछानेले नागरिकता विवादमा २०८९ माघ १३ मा सर्वाेच्च अदालतले सांसद पदसहित उपप्रधान तथा गृहमन्त्रीको पद खारेज गरिदिएपछि माघ २२ मा पत्रकार सम्मेलन गर्दै मिडियामाथि आक्रोश व्यक्त गरेका थिए । उनले मिडिया सञ्चालक र सम्पादकलाई सम्बोधन गर्दै बोलेको १२ भाई भन्ने शब्दले लामोसमयसम्म चर्चा पाइरहयो । 

    media24.jpg
    पत्रकार सम्मेलनमा बोल्दै रवी लामिछाने ।


    कोरोनाका बेला मिडिया सञ्चालन गरेकै कारण सरकारबाट सहुलियत दरमा ऋण लिएका मिडिया हाउसले त्यो सुविधा पत्रकार र पत्रकारिताको हित भन्दा पनि व्यापारिक स्वार्थ लाभका लागि प्रयोग गरेको भन्दै मिडियाको आलोचना हुने गरेको छ ।

    kantipur.jpg
    पत्रकार महासंघले कोरोना महामारिका बेला सरकारसँग लिएको सहुलियत ऋणको हिसाब मागेको बारे मिडिया कुराकानीमा प्रकाशित सामग्रीको स्क्रिन सट

    पत्रकारहरुलाई काम गरेबापत महिनौँ तलव नदिने मिडियाले सहुलियत ऋणलाई कलेज खरिद, पार्टी प्यालेस सञ्चालन, लगायतका काममा खर्च गरेको आरोप लाग्ने गरेको छ । त्यसले मिडियाहाउस भित्रै पनि मालिक र पत्रकारकाबीचमा अविश्वासको वातावरण सिर्जना गरेको छ । 
    सुचना र प्रविधिको उच्च प्रयोगसँगै जनतामा सूचनाको सहज पहुँच, तथ्य जाँच गर्ने संस्थाको स्थापना जस्ता कुराले  मुलधारका मिडियाले आफ्नो स्वार्थ बाझिने विषयमा गरेका चलाखी सहजै पत्ता लाग्ने गरेका छन् । जसले गर्दा मुलधारका मिडियाप्रतिको विश्वनियता थप कमजोर बन्दै गइरहेको छ । 
    मिडियाप्रतिको विश्वास कमजोर भएको भनाई केवल आरोप मात्र होइन । अमेरिकामा निर्वाचनको माहोल तातिरहेका बेला चर्चित अमेरिकी पत्रिका दि वासिंटन पोस्टका मालिक जेफ बेजोसले यो तथ्यलाई स्वीकार गर्दै अक्टोबर २४, २०२४ मा एउटा आलेख नै लेखेका छन् ।

    media trust8.jpg
    दि वासिंटन पोस्टका मालिक जेफ बेजोसको आलेखको स्क्रिन सट

    उक्त आलेखमा उनले मिडियाप्रतिको विश्वास कमजोर भएको स्वीकार गरेका छन् । बेजोस लेख्छन्, निर्वाचनमा मतदान मेसिनले दुई काम गर्नु पर्दछ । तिनिहरुले सही तरिकाले मत गणना गर्नुपर्छ । र मानिसहरुले मेसिनले सही मतगणना गर्छ भनेर विश्वास गर्नुपर्छ । दोस्रो आवश्यकता पहिलो भन्दा फरक र निकै महत्वपूर्ण पनि छ । समाचारको हकमा पनि हामी तथ्यपरक हुनुपर्छ । हामीले तथ्यपरक लेख्छौँ भनेर मानिसहरुले विश्वास गर्नुपर्छ । तर तितो तथ्य के हो भने दोस्रो आवश्यकतामा हामी असफल भएका छौँ । अहिले धेरै जसो मान्छे मिडिया पक्षपाती छन् भन्ने विश्वास गर्छन । हाम्रो विश्वसनीयतामा भइरहेको निरन्तर गिरावटका बारेमा अरुलाई दोष दिन सजिलो छ । तर पीडित मानसिकताले केही गर्दैन । गुनासो गर्नु कुनै रणनीति होइन र हामीले हाम्रो विश्वसनीयता बढाउन जे गर्नुपर्छ त्यसका लागि कठोर मिहनेत गर्नैपर्छ ।  

    media trust9.jpg
     बेजोसको आलेखको महत्वपूर्ण अंश 


    विभिन्न अध्ययनहरुले विश्वभरमा मुलधारका मिडियाहरु राजनीतिक, सामाजिक र आर्थिक कारणले विश्वास गुमाउँदै गएको देखाउँछ ।
    रोयटर्स इन्सिच्युटले गरेको एक अध्ययनले समाचार मिडियाप्रति विश्वास नगर्ने मध्ये ६७ प्रतिशत कारण मिडियाले पूर्वाग्रह राखेर आफ्नो एजेन्डासँग सम्बन्धीत समाचार मात्र प्रकाशित गर्ने रहेको छ । पाठकहरुको महत्वपूर्ण संख्याले मिडियामा समाचारले आम पाठक वा दर्शकको प्रतिनिधित्व गर्नुको सट्टा शक्तिशाली व्यक्तिहरूले आफ्नो राजनीतिक वा आर्थिक स्वार्थ पूरा गर्न मिडियाको दुरुप्रयोग गरिरहेको महसुस गर्ने गरेका छन् । मुलधारका मिडियाको विश्वसनियता कमजोर हुनुका पछाडी राजनीतिसँगै मिडियाको स्वामित्व संरचनाले पनि भूमिका खेल्ने गरेको छ । विश्वभरमै धेरै प्रमुख मिडिया आउटलेटहरू ठूला कर्पोरेट हाउसको स्वामित्वमा रहेकाछन्, जसले स्वार्थको द्वन्द्वलाई प्रवद्र्धन गर्ने काम गर्छ । यस्ता कर्पाेरेट हाउसहरुले आफ्नो वित्तीय हितको रक्षा गर्न समाचार सामग्रीलाई प्रभाव पार्ने गर्ने गर्छन् । 

    media trust5.jpg


    सन २०२४ मा अमेरिकामा भएको एक अध्ययनले ३१ प्रतिशत मानिसहरुले मात्र मुलधारका मिडिया,  अखबार, टेलिभिजन र रेडियोमा विश्वास गर्ने देखाएको छ । पछिल्ला वर्षहरुमा मिडियाप्रतिको विश्वास निरन्तर ओरालो लागेको देखिन्छ ।

    media trust.jpg


    रोयटर्स इन्सिच्युटको २०२१÷०२३ को अध्ययनले भारतमा पनि समाचारका स्रोतप्रतिको विश्वास निरन्तर घट्दै गइरहेको देखाएको छ ।  

    media trust3.jpg

    नेपालमा सन २०२२ मा भएको एक अध्ययनले पनि मुलधारका मिडियाप्रतिको विश्वासलाई कमजोर देखाएको छ ।

    media trust4.jpg
    स्रोतः सेयरकास्ट इनिशिएटिभ नेपाल

    रास्वपा सभापति लामिछानेले मिडियामाथि लगाएको लाल्छना पछि त्यो विश्वास अझ कमजोर हुँदै गइरहेको मिडिया क्षेत्रका जानकारहरु बताउँछन् ।  कान्तिपुर मिडिया गु्रपले १३ नोभेम्बर २०२४ मा आयोजना गरेको कान्तिपुर कन्क्लेभको पेन एण्ड पावर ः थ्रि डिकेड्स अफ नेप्लिज डेमोक्रेसी एण्ड जर्नालिज्म विषयक कार्यक्रममा पत्रकार युवराज घिमिरेले गम्भीर विषय उठान गरेका छन् ।

    media26.jpg
    कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कार्यक्रमका वक्ताहरु

    मिडिया माथिको हस्ताक्षेपका बारेमा कुरा गर्दा मिडियाको असफलतालाई पनि हेर्नुपर्ने बताएका थिए । उनले सत्ता र शक्तिमाथि प्रश्न गर्नुपर्ने  मिडिया उल्टै मिल्नजाँदा मिडियामाथि नै थ्रेट बढी हुने बताएका थिए । मिडियाले उठाउने विषयवस्तुमा दोहोरो मान्यता नराखी पत्रकारिता गर्दा मिडियाको आलोचना भएपनि त्यसले पछिसम्म अर्थ राख्ने उनको तर्क थियो । एउटै व्यक्ति नागरिक समाजको सदस्य, एनजिओकर्मी, राजनीतिक दलको कार्यकर्ता र मिडियाकर्मी हुँदा समस्या हुने उनको भनाई थियो । मिडियालाई शक्तिको स्रोतका रुपमा प्रयोग गर्दा समस्या आउने उनको तर्क थियो । 
    सोही कार्यक्रममा बोल्ने क्रममा पत्रकार सुधीर शर्माले मिडियामाथि प्रश्न उठ्दा किन उठ्यो भनेर मिडियाले आफैभित्र हेर्नुपर्ने बताएका थिए । उनले मिडियाले आत्मसमिक्षा गर्नुको सट्टा आफुले आफैलाई महान भन्दै गएकाले समस्या भएको बताएका थिए । 
    परम्परागत मिडियाप्रतिको विश्वास घट्दै गएपछि, सामाजिक सञ्जाल विकल्पको रूपमा देखा परेको छ ।  जसले आम मानिसहरुलाई  प्रत्यक्ष रूपमा सूचना, राय र अनुभवहरू आदान प्रदान गर्न सक्ने प्लेटफर्महरू प्रदान गर्दछ । 
    पारदर्शिता र उत्तरदायित्व पत्रकारितामा मुख्य मूल्यहरू हुन्, तर दर्शकहरूले प्रायः मुलधारका मिडियामा यी गुणहरू अभाव भएको महसुस गर्छन् । प्रमुख मिडिया संगठनहरू गल्तीहरू स्वीकार गर्न वा आफ्ना स्रोत र लगानीका बारेमा पारदर्शी हुन चाहँदैनन् भन्ने धारणाले पनि विश्वभरबाट लिगेसी मिडियाप्रतिको विश्वास अझ कम हुँदै गएको देखिन्छ ।

    यो सामग्रीलाई विस्तृतमा भिडियोको माध्यमबाट प्रस्तुत गरिएको छ । 

     

     

    Comments
    Releted News

    © 2026 All right reserved to Nepalobserver.com  | Site By : SobizTrend