गत साउन ३२ (२०८१ साउन ३२) गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामे खोलामा आएको बाढीको मुख्य कारण तापक्रम वृद्धि रहेको दाबी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । प्राधिकरणले बुधबार (भदौ ५ गते) सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाढीको मुख्य कारण जलवायु परिवर्तनको प्रभाव भनेको छ । प्राधिकरणले थामे खोलामा बाढी आएको अर्काे दिन अर्थात शनिबार (भदौ १, २०८१) मा एक विज्ञप्ति जारी गर्दै थामे बजार भन्दै करिब नौ किलोमिटर माथि रहेका दुई हिमताल विष्फोट हुँदा गेग्य्रान र ठूला ढुंगा सहितको बाढी आएको जानकारी गराएको थियो । प्राधिकरणले स्थानीयहरुसँगको अन्तरक्रिया, बाढी आएको क्षेत्रको अवलोकन र विभिन्न निकायको प्रारम्भिक जानकारीमा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँच बटा हिमताल मध्य सबैभन्दा माथि रहेको ताल फुटेर तल रहेको अर्काे तालमा खसेको र उक्त ताल पनि फुटदा श्रृंखलावद्ध प्रभाव परेको जनाएको थियो । त्यहाँ रहेका बाँकी तीन वटा हिमताल भने यथावत रहेको र बाँकी तालको पनि जोखिमको अवस्थाबारे अध्ययन गर्नुपर्ने जनाएको थियो ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको फोर्से केन्द्रमा बाढी आउने समयको एक साताको अवधिमा तापक्रम तिरन्तर बढिरहेको देखिएको पनि जानकारी गराएको थियो । सो क्षेत्रमा साउन २५ देखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भई ९.७ बाट ११ डिग्रि सेल्सियस पुगेको र साउन ३१ अर्थात बाढी आउने अघिल्लो दिन तापक्रम १५.९ डिग्रि सेल्सियत पुगेको पनि जनाएको छ । त्यस्तै त्यहाँ सात दिनको अवधिमा कुल ६५ मिलिमिटर वर्षा भएको पनि प्राधिकरणले जानकारी गराएको थियो । प्राधिकरणले बाढीको कारण भएको नोक्सानीलाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा संकट उत्पन्न भई क्षति तथा नोक्सानी (लस एण्ड ड्यामेज) बढिरहेको प्रमाणित हुने जनाएको छ ।
दि इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटिड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले सन २०२० मा नेपाल, तिब्बत र भारतका हिमताल सम्बन्धी गरेको अध्यनले ४७ वटा हिमताललाई सम्भावित जोखिम हिमतालका रुपमा वर्गीकरण गरेको थियो । जसमध्य नेपालका कोशी, गण्डकी र कर्नाली नदिका बेसिन समेत रहेका छन् ।
इसिमोड सहितका संस्थाहरुले गरेका पछिल्ला अध्ययनहरुले नेपाल, भुटान र चीन लगायनका देशमा ठूलो संख्यामा हिमतालहरु रहेको र त्यसमध्य केही तिव्र गतिमा बढिरहेकाले त्यसले जोखिम निम्त्याउन सक्ने देखिएको छ ।